विराटनगर । सरकारले कक्षा ५ सम्म दिँदै आएको दिवा खाजामा रकम बढाएको छ । आगामी आर्थिक वर्ष २०८२८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन गरेको बताए ।
यस्तै माध्यमिक तहको शिक्षा क्षेत्रको सञ्चालन तथा अनुगमनको व्यवस्था प्रदेश सरकार मातहतबाट गर्ने व्यवस्था मिलाइने भएको छ ।
यस्तै अर्थमन्त्री पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउनका लागि प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्नेगरी सय वटा विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे । यसका लागि प्रतिविद्यालय २५ लाख रुपैयाँ अनुदान दिने घोषणा सरकारले गरेको छ ।
सरकारले आउँदो वर्ष विद्यालयहरूको प्रकृति हेरी नक्शाङ्कन, गाभ्ने, शिक्षक दरबन्दी पुनरावलोकन, शिक्षक तालिम, सामुदायिक विद्यालयको गुणस्तर सुधार गरिने बताएको छ । सरकारले आउँदो वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।