विराटनगर । आइतबार एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा पुगेका छन् । मौसम अनुकुल भएसँगै एकैदिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् ।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणको शुरुका केही दिन अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेको छ । आज पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको विभागको भनाइ छ ।
यसैबीच फोटो पत्रकारसमेत रहेकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथा आरोहण गरेकी छन् । विभागको तथ्याङ्कअनुसार वसन्त ऋतुमा अहिलेसम्म ४७ आरोही समूहका ८६ महिला र तीन सय ८२ पुरुषसहित चार सय ६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।