विराटनगर । विराटनगर-१२ का कुनाल कामत ७ वर्षका भए । उनी स्केट खेलाडी हुन् । गतवर्ष असोजमा थाइल्याण्डमा भएको अन्तराष्ट्रिय स्केट प्रतियोगितामा १३ देशका प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै कामतले ११ स्वर्ण र ३ कांस्य पदक जितेका थिए ।
उनले उक्त प्रतियोगिताबाट देशसँगै विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भए । सानै उमेरमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका उनलाई विराटनगर-१२ का वडाध्यक्ष हिरालाल कामतले वडाको तर्फबाट सम्मान गर्ने बताएका थिए ।
उनको हौसला बढाउनका साथै आगामी दिनमा थप उत्कृष्ट प्रदर्शन गर्न मद्दत पुगोस भनेर सम्मानको आश्वासन देखाएपनि वडाध्यक्षले सम्मान गरेका छैनन् । कुनालका बाबु सुरज कामतका अनुसार सम्मान गर्ने भनेको ८ महिना बितिसकेको छ । उनले वडामा गएर कुरा गर्दा समय मात्रै थप गर्ने गरेको गुनासो गरे ।
वडाध्यक्ष कामत भने आर्थिक समस्याका कारण सम्मानमा ढिलाइ भएको बताउँछन् । ‘केही नगदसहित सम्मान गर्ने भनेको हो’, उनले संगालोखबरसँग भने, ‘महानगरपालिकाले खातामा पैसा नपठाउँदा समस्या भएको छ । यो महिनाभित्रमा सम्मान हुन्छ ।’
उनले वडाको खातामा रकम नभएका कारण समयमै सम्मान गर्न नसकेको स्वीकार गरे । सबै तयारी भएपनि रकमकै कारण सम्मान रोकिएको बताउँदै उनले यो महिनाभित्र महानगरबाट बजेट आउने सम्भावना रहेको बताए ।