विराटनगर । आज २५६९ औं जयन्ती, पूजा-आराधना एवम् प्रवचन गरी मनाइँदैछ । शान्तिका अग्रदूतका रूपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको जन्मजयन्ती हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप बुद्ध जयन्ती मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायतका ठाउँमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत ठाउँमा विशेष कार्यक्रम हुँदैछ । यी ठाउँमा बिहानैदेखि चहलपहल छ । इसापूर्व ५६३ अर्थात आजभन्दा २५६८ वर्षअघि रूपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
यसैबीच बुद्धको जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाएर सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ ।