
विराटनगर । नेपाल पुलिस क्लबले तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरको बैजनाथपुरमा आज भएको फाइनल खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । लगातार तीन पटक फाइनलमा पुगेको पुलिसले पहिलो पटक उपाधि हात पार्यो ।
जितसँगै पुलिसले नगद चार लाखसहित ट्रफी पाउँदा उपविजेता आर्मीले नगद दुई लाख र ट्रफी हात परेको छ ।
पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३९ रनको योगफल बनाएको थियो । पुलिसका लागि अरुण ऐरी र कप्तान शंकर रानाले अर्धशतकीय पारी खेले ।
ऐरीले ६४ र रानाले ५१ रन बनाए । श्रवण यादवले ३२ रन तथा दिपक डुम्रेले ३६ रनको योगदान दिए । आर्मीका नरेन साउदले २ विकेट लिँदा दुर्गेश गुप्ता र तुलबहादुर थापाले पनि २-२ विकेट लिए ।
पुलिसले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबैै विकेट गुमाउँदै २ सय १५ रन मात्रै बनाउन सक्यो । आर्मीका विकेट किपर हिमान्सु दत्तले अर्धशतकीय पारी खेल्दा पनि जित दिलाउन सकेनन् ।
दत्तले ६३ रन बनाउँदा निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४, नरेन साउदले २१, जितेन्द्र सिंह ठकुरीले २० र विशाल सुस्लिङले १८ रनको योगदान दिए । पुलिसका प्लेयर अफ फाइनल श्रवण यादवले ४ विकेट लिँदा चित्र विष्टले २ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद भए । उनले नगद २५ हजार र ट्रफी हात पारे । त्यस्तै उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत घोषित भए ।
उनीहरूले जनही नगद १५-१५ हजार र ट्रफी पाए । बैशाख १३ गतेदेखि सुरु भएको प्रतियोगितामा पाहुना टोली भारतसहित ६ टिम सहभागि थिए ।

संगालोखबर 













