संगालोखबर


विराटनगर । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका छन् ।

प्रमुख विषयहरूमा पूर्वाधार परियोजनाको पुनः प्राथमिकता, स्वास्थ्य बीमा सुधार, शिक्षा प्रणालीको रूपान्तरण, कृषि उद्यम प्रोत्साहन, ऊर्जा सुरक्षा, जलवायु रणनीति र वित्तीय क्षेत्रको सुदृढीकरणलगायत रहेका छन् ।

Advertisement

राष्ट्रपतिले विगतमा घोषणा भएका आयोजना वर्गीकरण गरिने र संसदीय कार्यकालमै सम्पन्न हुने गरी समयतालिका निर्माण गरिने बताए । सम्भावना नभएका परियोजनाहरू स्थगित वा खारेज गरिने र निर्माणाधीन आयोजनाहरूको स्रोत सुनिश्चितता गरिने निती तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता तथा सहुलियतपूर्ण कार्यक्रमहरूलाई स्वास्थ्य बीमामा आबद्ध गरिने र बीमा कार्यक्रम पुनर्संरचना गरिने सरकारको घोषणा छ । यसले नागरिकको पहुँच र सुविधा दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

विद्यालय शिक्षामा देखिएका समस्याहरू समाधान गर्न कानुनी तथा नीतिगत व्यवस्था गरिने बताइएको छ । विश्वविद्यालय शिक्षालाई अनुसन्धान, ज्ञान र विकासतर्फ केन्द्रित गरिने तथा उद्यमशीलता मैत्री शिक्षाको प्रवर्द्धन गरिने राष्ट्रपति पौडेलले उल्लेख गरे ।

कृषि उद्यम परियोजनालाई धितो राखेर कर्जा दिने र कृषि व्यवसायलाई प्रोत्साहित गर्न पाइलट परियोजना सञ्चालन गर्ने उल्लेख गरिएको छ । अग्रिम खरिद सम्झौतामार्फत कृषि उत्पादनको बजार सुनिश्चितता गरिने नीति पनि समावेश छ ।

आयात प्रतिस्थापन र ऊर्जा सुरक्षाका लागि जलाशययुक्त जलविद्युत आयोजनाहरूलाई प्राथमिकता दिइने जनाइएको छ । यसले दीर्घकालीन ऊर्जा आवश्यकतामा राहत दिने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आगामी जेठ २ देखि ४ सम्म ‘सगरमाथा संवाद’ आयोजना गरिने उल्लेख छ । बढ्दो खराब कर्जा र बैंकहरूले सकारेको गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न सरकार सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!