विराटनगर । विराटनगरको बैजनाथपुरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ ।
आज भएको समूह ‘बी’ को अन्तिम खेलमा भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो । यसअघि समूह ‘ए’ बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरिसकेको छ । शनिबार हुने फाइनल खेलमा पुलिस र आर्मी भिड्ने छन् ।
आसामले दिएको १ सय ५५ रनको चुनौती २८ ओभरमा जित्नु पर्ने दबावका बीच मैदान प्रवेश गरेको पुलिसले २६.१ बलमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको आसामले निर्धारित ५० ओभरमा ४२.२ बलमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । आसामका राज विश्वासले ३३ रन बनाउँदा अरुण सोनारले ३१, केभिन सञ्जीव क्रिष्टोफरले २३, हियेन कस्यपले १९ तथा कप्तान गोकुल शर्माले १० रनको योगदान दिए । पुलिसका श्रवण यादव र अरुण ऐरीले ३/३ विकेट लिए ।
पुलिसको जितमा प्लेयर अफ द म्याच कप्तान अमित श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७१ रनको योगदान दिए । यस्तै शङ्कर रानाले ६७ बदमा ४ छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रनको पारी खेले । आसामका कप्तान गोकुल शर्माले ३ विकेट लिए ।