विराटनगर । ७१ वर्षीय कृष्ण चौधरी, जो दैनिक ज्याला मजदुरीमा काम गर्छन । उनी दिनहुँ विराटनगरको भूमिप्रशासन चोकमा आउँछन् र कामदारको खोजीमा आउनेहरूको प्रतीक्षा गर्छन् ।
उनको घर विराटनगर-१५ हो । उनी साइकलको पाइडल पेल्दै नियमित कामको खोजीमा निक्लन्छन् । कहिले काम पाइन्छ भने कहिले रित्तो हात नै फर्किनुपर्ने अवस्था आउँछ ।
उनले यसरी दैनिक ज्याला मजदुरीको काम गर्न थालेको २१ वर्ष भयो । ‘वृद्धभत्ता त आउँछ, तर त्यसले गुजारा गर्न पुग्दैन’, उनले भने, ‘सकुन्जेल मजदुरी त गर्नै पर्यो । पहिला जुटमिलमा काम गर्थे । जुटमिल बन्द भएपछि दैनिक मजदुरी गर्न थालेको हुँ ।’
प्रायः बिहान ८ बजे भूमिप्रशासन चोकमा आइपुग्ने उनी कहिले ११ बजेसम्म पनि कामको लागि पर्खिनु परेको अनुभव सुनाउँछन् । उनीसँग यो दौडानमा थुप्रै भोगाइहरू पनि छन् । आज एक सय ३६ औँ अन्तराष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
तर प्रत्येक वर्ष मनाइने मजदुर दिवस नारामा मात्रै सीमित भएको उनी बताउँछन् । ‘हरेक वर्ष मजदुर दिवस मनाइन्छ । तर हामीजस्ता दैनिक ज्याला मजदुरीमा काम गर्नेलाई मात्र नभएर उद्योग कलकारखानामा काम गर्नेलाई पनि मजदुर दिवसले छुन सकेको छैन’, उनले भने, ‘नारामा मात्रै सीमित हुन्छ । हामीले दैनिक सात देखि आठ सय रुपैयाँमा काम गर्दै आएका छौँ ।’
विराटनगर जुटमिलमा २५ वर्ष काम गरेका उनी मिल बन्द भएपछि दैनिक ज्याला मजदुरीमा खटिनुपरेको सुनाउँछन् । उनले विराटनगर जुटमिल सञ्चालन गरेर हजारौँ श्रमिकलाई रोजगारीको वातावरण बनाउन सरकारलाई आग्रह गरे ।
‘जुट मिल चलेको अवस्थामा हामी जस्ता मजदुरले भौँतारिनु पर्ने थिएन’, उनले भने, ‘सरकारले नारामा मात्रै मजदुर दिवस मनाउनको सट्टा यस्ता उद्योगहरू सञ्चालनमा ध्यान दिनुपर्छ ।’
उनी त एक उदाहरण मात्र हुन् । विराटनगरका विभिन्न स्थानमा छिमेकी पालिकाहरूसहितका मजदुरहरू दैनिक कामको खोजीमा आउँछन् । कसैले काम पाउँछन् त कोही खाली हात घर फर्किन्छन् ।
मोरङको जहदा गाउँपालिका-७ का महानन्द राजभार बिहानै घरबाट निक्लन्छन् । उनलाई पाँच जना परिवारको गुजारा चलाउन दैनिक मजदुरी गर्नुपर्ने बाध्यता छ । ‘जे काम भेटिन्छ, त्यही गर्ने हो । तर कहिले त काम पाउन पनि सकिँदैन’, उनले भने, ‘कतिपयले त मोलमोलाइ गरेर कम पैसा दिन्छन् । काम पाएको दिन ७/८ सय कमाइ हुन्छ ।’
मजदुर दिवस मनाइन्छ भन्ने सुनेका उनले आफूहरूलाई यसबाट केही उपलब्धि नभएको सुनाउँछन् । मजदुर दिवसलाई नारामा मात्रै सीमित नबनाएर मजदुरका समस्या समाधान गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।
‘मजदुर दिवस कहाँ सकले मनाउँछन्, हामीलाई त थाहा पनि छैन’, उनले थपे, ‘हामीलाई त काम गर्ने बाहेकको अन्य ध्यान हुँदैन । काम नगरे बिहान बेलुकाको छाक टार्नै समस्या हुन्छ ।’
जहदाकै प्रमोद राय सँधाझै आज पनि बिहानै भूमिप्रशासन चोकमा भेटिए । ‘अहिले त दिनहुँ जसो नै काम पाइरहेको छु’, उनले भने, ‘अब बर्खाको समयमा काम पाउन मुस्किल हुन्छ । बिहानै साइकल पेलेर आउनुपर्छ, खाली हात फर्कनुपर्दा दुःख लाग्छ ।’
उद्योगमा काम गर्दै आएका उनको कोरोनासँगै रोजगारी गुम्यो । त्यसपछिको दैनिकी मजदुरीबाटै चलाउँदै आएको उनले सुनाए । सरकारले दिवसका दिन मजदुरका हकहितका विषयमा बोलेपनि व्यवहारमा लागू गर्न नसकेको उनको बुझाइ छ ।
‘१२ घण्टा काम गर्न नसकेपछि फ्याक्ट्रीले मलाई निकाल्यो’, उनले भने, ‘फ्याक्ट्रीको स्थायी रोजगारी गुमेपछि बाध्य भएर दैनिक ज्याला मजदुरीमा लागेको हुँ ।’ एकदिन कार्यक्रम गरेर मजदुरका समस्या समाधान नहुने उनले सुनाए ।