काठमाडौं । आगामी वैशाख २६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियरका लागि कलाकारसहितको निर्माण टोली सिक्किम प्रस्थान गरेको छ ।
निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
फिल्मको वर्ल्ड प्रिमियर बुधवार गान्तोक सिक्किममा हुँदैछ । फिल्म, कला साहित्य सम्बद्ध दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी, समाजसेवीसहितको उपस्थितिमा भव्य प्रिमियरको आयोजना गरिने निर्देशक लामाले बताए ।
सिक्किमपछि सिलिगुडीमा दोस्रो प्रिमियर तय गरिएको छ । स्थानीय दर्शक तथा शुभचिन्तकहरूसँगै फिल्म हेरेर कलाकार तथा निर्माण टिमले प्रतिक्रिया लिनेछ भने दार्जिलिङमा पनि फिल्मको प्रचारात्मक कार्यक्रम तय भएको छ ।
यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । फिल्ममा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको अभिनय छ ।
सरवानन इलावार्सुको छायाङ्कन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।