विराटनगर । काठमाडौंमा सडक केन्द्रित आन्दोलन गरिरहेका शिक्षक-कर्मचारी र प्रहरीबीच झडप हुँदा ६३ जना शिक्षक घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वरमा झडप भएको हो ।
घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिटल र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा र लाठी चार्ज गरेको थियो ।