विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई हराउँदै एपीएफ शीर्ष स्थानमा उक्लिएको छ ।
एम.एम.कप फाउण्डेशनको आयोजनामा विराटनगरको बैजनाथपुरमा जारी प्रतियोगितामा बागमतीलाई पराजित गर्दै एपीएफ शीर्ष स्थानमा उक्लिएको हो ।
आज भएको समुह ‘ए’ को दोस्रो खेलमा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा एपीएफ आर्मीसँग पराजित भएको थियो ।
एपीएफले एक खेलमा जित र एकमा पराजित हुँदै दुई अंकका साथ शीर्ष स्थानमा हुँदा एक खेलमा जित निकाल्दै आर्मी दोस्रो स्थानमा छ । बागमती पहिलो खेलमा पराजित हुँदै अंक विहीन छ ।
टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा १९.३ बलमा सबै विकेट गुमाउँदै ८० रन मात्रै बनाउन सक्यो ।
बागमतीका कप्तान रीत गौतमले ३१ रन बनाउँदा विवेक राना मगरले १३ रन र उत्तम थापा मगरले १० रन बनाए । एपीएफका प्लेयर अफ म्याच प्रकाश जैशीले ४ विकेट लिँदा हविशेष गौतमले ३ विकेट र भोजराज भट्टले २ विकेट लिए ।
८१ रनको झिनो लक्ष्य पछ्याएको एपीएफले ९.४ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । एपीएफको जितमा दीपक बोहराले ३५ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ४८ रन बनाए भने सुमित महर्जनले अविजित १८ रनको योगदान दिए ।
बागमतीका असिम श्रेष्ठले २ विकेट लिए । सोमबार समुह ‘ए’ को अन्तिम खेलमा आर्मी र बागमतीले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।