विराटनगर । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।
आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमालाई सम्झने गर्छन् ।
वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवम् प्यारा हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद्हरू बताउँछन् ।
आज विशेषगरी काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्छ । बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।