संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानीको वातावरण सिर्जना हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेशको आर्थिक अवस्था लगानीका सम्भावना र चुनौती’ अन्तरसम्वाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

Advertisement

मुख्यमन्त्री कार्कीले अन्तरसम्वादबाट महत्वपूर्ण सुझाव आएको र यसले लगानी सम्मेलनलाई सफलता पार्न महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे । उनले देशलाई समृद्ध बनाउन, राजस्व वृद्धि गर्न र रोजगार सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

‘सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ, निजी क्षेत्रलाई लगानी गर्ने वातावरण पनि निर्माण गरिदिन्छ’, मुख्यमन्त्री कार्कीले भने, ‘हामीले स्वीकार गरेको कानुन र संविधानको विपरीत जान हुँदैन । लगानी गर्न चाहनेको मनोबल घटाउने प्रयास कहिँ कतैबाट हुनु हुँदैन ।’

‘समृद्ध कोशी प्रदेश, सम्पन्न नेपाल’ सङ्कल्प पूरा गर्न सबैले आ-आफ्नो तहबाट प्रयास गर्नु पर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए । सरकारको नीति र कानुनको परिधिभित्र पाथिभरामा निर्माण सुरु भएको केबलकार परियोजनालाई विरोध र अवरोध गर्नु राम्रो नभएको उनको भनाइ थियो ।

कोशी प्रदेश सरकारले स्विस सरकारको सहयोगमा साना र मझौला उद्योग स्थापना गर्न चाहनेलाई ५० लाख देखि तीन करोडसम्म बैँक मार्फत ऋण दिने र यसका लागि सरकारले धरौटी सुनिश्चित गरिदिने र लगानी अभिवृद्धि गर्न प्रदेश सरकारले सात वटा कानुनलाई संशोधन गर्ने समेत मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले नेपालको सबै भन्दा ठूलो बजार भारत भएकाले भारतलाई लक्षित गरी पर्यटन प्रवर्द्धन, वस्तु र सेवाका क्षेत्रमा लगानी गरी आय आर्जन गर्न सकिने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानी गर्न उत्साह र हौसला घटाउने काम गर्नु दुर्भाग्य भएको बताए । उनले लगानी प्रवर्द्धनमा केन्द्र, प्रदेश र स्थानीय तहले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले लगानीकर्ताको लगानीबाट नै आर्थिक विकास हुने, उत्पादन र उत्पादकत्व बढ्ने, रोजगार सिर्जना हुने, राष्ट्रिय आय अभिवृद्धि हुने भन्दै शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि सेवा बढाउन निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी हेमराज ढकाल, शैलेन्द्र गुरागाँइ, राकेश सुराना, पदमलाल भण्डारी, आदित्य पराजुली लगायतले लगानी सम्मेलनका बारेमा धारणा राखेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!