विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न मागहरू अघि सार्दै आन्दोलनको चेतावनी दिएको छ । आज कोशी प्रदेश समितिले विराटनगरमा पत्रकार सम्मेलन गर्दै १२ बुँदे माग सार्वजनिक गरेको हो ।
समितिले आफ्ना मागहरू सम्बोधनमा चासो नदिए सङ्घर्षमा उत्रने जनाएको छ । माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्नेगरी शिक्षा ऐन जारी गर्नुपर्ने, विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर्नुपर्ने, प्राविधिक शिक्षाको विकास र विस्तारका लागि सिटिइभिटीलाई बहुप्राविधिक विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने माग अघि सारेको छ ।
यस्तै विदेशी बोर्डका सम्पूर्ण विद्यालय खारेज गर्नुपर्ने, शिक्षामा २० प्रतिशत बजेट छुट्याइनु पर्ने, आन्दोलनरत शिक्षकका जायज माग पूरा गरेर पठन-पाठन सुचारु गर्ने वातावरण बनाउनुपर्ने, नेपाली भाषामा पठन-पाठन हुने व्यवस्था मिलाउँदै अंग्रेजीलाई माध्यम भाषा मात्रै बनाउनुपर्ने लगायतका माग छन् ।
यूनियन कोशी प्रदेश संयोजक निशान कटुवालका अनुसार केन्द्रको समन्वयमा आज देशैभरबाट जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । यस्तै भोलि शैक्षिक संस्थाहरूमा ब्यानर प्रदर्शन गर्ने उनले बताए ।
बैशाख १२ गते प्याब्सन, एनप्याब्सन तथा निजी विद्यालय सम्बन्धन संस्थाहरूलाई पत्र बुझाउने र १५ गते देशव्यापी प्रदर्शनको तयारी रहेको संयोजक कटुवालको भनाइ छ । मागहरू सुनुवाइ नभएमा थप सङ्घर्षका कार्यक्रम घोषणा गरिने उनले बताए ।