धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ धापका भरिया ‘कार्की साँइला’ को जीवनीमा आधारित भएर चलचित्र बनाइने भएको छ । भारी बोकेर जीवन कटाएका स्व। कार्कीको जीवनीमा आधारित भएर ‘कार्की साँइला’ नामक चलचित्र बनाउन लागिएको हो ।
आगामी बैशाख २० गतेबाट धनकुटाका विभिन्न स्थानमा छायाङ्कन हुन लागेको चलचित्रको सोमबार काठमाडौंमा शुभमुहूर्त गरिएको छ । अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा सिवाकोटीलाई शीर्ष भूमिकामा लिएर चलचित्र निर्माण गर्न लागिएको हो । शुभमुहूर्तमा पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले जनजनको मन जित्ने गरी चलचित्र निर्माण गर्न शुभकामना दिए ।
कर्ण बहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई राजेन्द्र बस्नेतले निर्देशन गर्नेछन् । चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ तथा निर्माता बालकुमार राई हुन् ।
फिल्ममा राजु किराँतीको द्वन्द्व, बाबुल गिरीको संगीत, कमल राईको नृत्य, जीवननाथ गौतमको मुख्य सहायक निर्देशन र अजित लामिछानेको पटकथा तथा संवाद रहनेछ । चलचित्रमा जितु र वर्षासँगै गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतले अभिनय गर्ने निर्माण पक्षले जनाएको छ ।
भिडियो-