
विराटनगर । यतिबेला देशैभरका शिक्षक-कर्मचारीहरू काठमाडौंमा सडक केन्द्रित आन्दोलनमा सरिक भएका छन् । चैत २० गतेबाट सुरु भएको आन्दोलन १६ औं दिनसम्म निरन्तर जारी छ ।
नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु भएपनि शिक्षकहरू विद्यालय बन्द गरेर काठमाडौंको सडकमा शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा सक्रिय भएका छन् ।
जसका कारण माध्यमिक शिक्षा परीक्षा एसइईको उत्तरपुस्तिका परीक्षण समेत हुन सकेको छैन । यस्तै बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा पनि असहयोग गर्ने घोषणा गरिसकेका छन् ।

सरकार पक्षले आफ्ना माग सुनुवाइमा चासो नदेखाएको भन्दै उनीहरूले आन्दोलन थप शसक्त बनाउने बताइरहेका छन् । यसै क्रममा मोरङका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक-कर्मचारी पनि सडक केन्द्रित आन्दोलनमा सरिक हुन काठमाडौं पुगेका छन् ।
सुकुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेत, पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई र आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल आन्दोलनमा पुगेका छन् ।
यस्तै जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पराजुली, मिल्स माध्यमिक विद्यालयका प्रधानाध्यापक बिन्दुकुमार लावती लगायत प्रधानाध्यापक तथा शिक्षकहरूको टोली यतिबेला आन्दोलनमा छन् ।
आन्दोलनलाई अझ उचाइमा पुर्याउन नेपाल शिक्षक महासङ्घ केन्द्रीय समितिले ७७ वटा जिल्लाबाटै शिक्षकहरूलाई अनिवार्य काठमाडौं आउन निर्देशन दिइसकेको छ । शिक्षकहरूको आन्दोलनले विद्यार्थीहरूको भविष्य र शिक्षाको गुणस्तरमा चुनौती थपिएको छ ।

संगालोखबर 













