संगालोखबर


विराटनगर । गत चैत २० गतेबाट काठमाडौंमा सुरु भएको सडक केन्द्रित शिक्षक आन्दोलन थप चर्किएको छ  ।

नेपाल शिक्षक महासङ्घले विज्ञप्ति जारी गर्दै बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा संलग्न नहुन केन्द्राध्यक्ष, निरीक्षक लगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ ।

Advertisement

महासङ्घले सोमबार विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आग्रह गरेको छ ।

‘शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति गाउँ र नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौँ,’ महासङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा रहेको जनाउँदै २०८१ चैत्र २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन चलिरहेको जनाएको छ । महासङ्घले गत चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको थियो ।

महासङ्घले भनेको छ ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन हो ।’

महासङ्घले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन सबै प्रधानाध्यापक, शिक्षक-कर्मचारीलाई आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!