विराटनगर । कोशी प्रदेश स्तरीय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदानमा आज भएको खेलमा सुनसरीलाई ७ विकेटले हराउँदै मोरङले उपाधी जितेको हो ।
टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनायो । सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खड्काले ११ रन बनाए । मोरङका मनोज रायले ३ विकेट लिँदा बैजनाथ चौधरीले २ विकेट लिए ।
९९ सय रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १७.३ बलमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । मोरङको जितमा बैजनाथ चौधरीले ३१ बनाउँदा अजय कर्णले २३ रनको योगदान दिए । सुनसरीका रोहन खड्काले २ विकेट लिँदा विवेक चन्दले १ विकेट लिए ।
खेलको प्लेयर अफ फाइनल मोरङका चौधरी भए भने प्लेयर अफ सिरिज र उत्कृष्ट बलर पनि मोरङकै बैजनाथ नै घोषित भए । त्यस्तै उत्कृष्ट ब्याटर पनि मोरङकै अजय कर्ण भए । चैत्र २८ गतेदेखि भएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका ४ टिम सहभागि थिए ।