विराटनगर । सुनको मूल्यमा आज ऐतिहासिक नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन प्रतितोला पाँच हजार सात सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
आज सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत चैत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिनको तुलनामा आज सुनको मूल्य आठ सय रुपैयाँले महँगो हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।