धरान । याक्खा समुदायभित्रको कोयोङ्वा थरको पहिलो वंशावली पुस्तक औपचारिक रूपमा सार्वजनिक गरिएको छ । धरानस्थित किरात याक्खा छुम्माको केन्द्रीय भवनमा आयोजित एक विशेष समारोहका बीच ‘कोयोङ्वा वंशावली’ पुस्तकको विमोचन गरिएको हो ।
कोयोङ्वा याक्खा समाज केन्द्रीय कार्य समितिको प्रकाशनमा तयार गरिएको उक्त पुस्तक समाजका अध्यक्ष कृष्णकुमार कोयोङ्वा, संस्थापक अध्यक्ष हेमराज कोयोङ्वा र किरात याक्खा छुम्माका केन्द्रीय अध्यक्ष भूपाल सिह जिमीले संयुक्त रूपमा विमोचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिमीले पुस्तक प्रकाशनले सम्पूर्ण किरात याक्खा समुदायलाई गर्व गर्ने अवसर दिएको भन्दै प्रसन्नता व्यक्त गरे । उनले कोयोङ्वा थरको ऐतिहासिकता र पहिचानलाई समाजमा स्थापित गर्न पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पुस्तकमा कोयोङ्वा थरका १९ पुस्ताको वंश विवरण, वंशवृक्ष, नेपालका विभिन्न जिल्ला तथा भारतका २५ गाउँबस्तीमा बसोबास गरिरहेका कोयोङ्वाहरूको संक्षिप्त विवरण, ऐतिहासिक दस्तावेज र तस्बिरहरू समावेश छन् । २१० पृष्ठको पुस्तक तयार पार्न खोजकर्ता, संकलक तथा सम्पादक नरेन्द्रबहादुर कोयोङ्वालाई झण्डै १० वर्ष लागेको जानकारी दिइएको छ । उनीसँगै गोमबहादुर कोयोङ्वाले समेत खोज तथा संकलन कार्यमा योगदान पुर्याएका थिए ।
समारोहमा वंशावली निर्माणमा योगदान र्पुयाएको भन्दै संस्थापक अध्यक्ष हेमराज कोयोङ्वा र ओमबहादुर कोयोङ्वालाई विशेष सम्मान गरिएको थियो । यस्तै, आर्थिक तथा भौतिक रूपमा सहयोग गर्नेहरुलाइ पनि सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमलाई झनै आकर्षक बनाउन परम्परागत केईलाक नृत्यसहित विविध सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।
पुस्तक विमोचनअघि समाजले धरानस्थित सर्दुखोलामा परम्परागत ‘गालीसराप’ विधिअनुसार विशेष पूजाआजा समेत गरेको थियो । आफ्ना पितापुर्खाको अन्जान गल्ती सन्तानमा नपरोस् भन्ने कामना गर्दै खोलामा गालीसराप बगाइएको थियो ।
अध्यक्ष कृष्णकुमार कोयोङ्वाले कोयोङ्वा वंशले सभ्यता र पहिचानको विकासतर्फ अगाडि बढ्दै गएको बताए । उनले वंशावली पुस्तक अबका पुस्ताका लागि सशक्त ऐतिहासिक दस्तावेज बन्ने विश्वास व्यक्त गरे ।