विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको छ । आज विराटनगरमा बृहत् र्यालीसहित विभिन्न कार्यक्रम गर्दै बोर्डले अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको हो ।
सहिद रंगशालाबाट सुरु भएको र्याली हस्पिटलचोक, जलजला चोक, गोल्छा चोकहुँदै बोर्डको कार्यालयमा पुगेको थियो ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नवौँ राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजालाई भन्दा उत्कृष्ट नतिजा ल्याउनेगरी १० औं खेलकुदको तयारीमा जुटेको बताए ।
राईले हालै सम्पन्न कोशी प्रदेश खेलकुद महोत्सव पनि राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको एक स्वरूप भएको उल्लेख गरे ।
बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले दशौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप बोर्डले विभिन्न प्रतियोगिताहरू आयोजना गरिरहेको बताए ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुँयालले खेलकुद चलायमान बनाउन बोर्ड सक्रियताका साथ अगाडि बढिरहेको उल्लेख गरे ।