धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको उपाधि नजिक पुगेको छ । आज भएको अन्तिम सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै गाइघाट फाइनल प्रवेश गरेको हो ।
खेल सुरु भएको एक मिनेट बित्न नपाउँदै एपीएफका युवराज खड्काले गोल गरेर टिमको खाता खोले । मध्यान्तरअघि एपीएफले १-० को अग्रता कायम राख्न सफल भयो । खेलको ६० औं मिनेटमा गाइघाटका किस्मत लिम्बुले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । ७० औं मिनेटमा रितेश तामाङले दिएको पासलाई सदुपयोग गर्दै विदेशी खेलाडी फोफोनाले हेडमार्फत गोल गरेर गाइघाटलाई २-१ गोलको अग्रता दिलाए ।

त्यसपछि थप गोल हुन नसक्दा गाइघाट फाइनल प्रवेश गरेर उपाधि नजिक पुगेको हो । गाईघाटका गोलकर्ता फोफोना खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको छ ।
अब, प्रतियोगिताको उपाधिका लागि भोलि गाइघाट र नमोबुद्ध क्लब सप्तरी भिड्नेछन् । हिजो भएको पहिलो सेमिफाइनलमा बिर्तामोड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध फाइनल प्रवेश गरिसकेको छ ।