धनकुटा । साविक विजेता टोली बिर्तामोड युनाइटेडले धनकुटामा जारी १७ औं संस्करणको भीमनारायण गोल्डकपमा विजयी सुरुवात गरेको छ । तल्लो टुँडिखेलमा आज भएको तेस्रो क्वाटरफाइनलमा चित्लाङ्ग फुटबल क्लब काठमाडौंलाई ३-१ गोल अन्तरले हराउँदै बिर्तामोडले सेमिफाइनलको यात्रा तय गरेको हो ।
बिर्तामोडले गत बैशाखमा सम्पन्न १६ औं संस्करणको भीमनारायण गोल्डकपको उपाधि चुमेको थियो । १७ औं संस्करणमा पनि आफ्नो पहिलो खेलमा शानदार खेल प्रस्तुत गर्दै बिर्तामोडले विजयी सुरुवात गरेको हो । खेलको ४४ औं मिनेटमा अभिसेक गुरुङले गोल गर्दै बिर्तामोडको खाता खोले । मध्यान्तरअघि बिर्तामोडले १-० ले अग्रता लियो ।
मध्यान्तरपछि खेलको ५८ औं मिनेटमा बिर्तामोडका विशाल भण्डारीले गोल थप्दै टिमलाई २-० ले अग्रता दिलाए । बिर्तामोडका टिम क्याप्टेन गिल्सन कन्दङ्वाले खेलको ६३ औं मिनेटमा गोल थप्दै चित्लाङलाई ३-० गोलले पछि पारे ।
खेलको ६६ औं मिनेटमा बिर्तामोडका सुवास लिम्बूले आत्मघाती गोल गर्दा चित्लाङको खाता खुल्यो । तर, पुनः गोल थप्न नसक्दा चित्लाङ प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
बिर्तामोडका गोलकर्ता टिम क्याप्टेन कन्दङ्वा खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले नगद ५ हजार पुरस्कार प्रदान गरेका छन् ।
अब, भोलिको खेल एपीएफ क्लब काठमाडौँ र बेलबारी फुटबल क्लबबीच हुने प्रतियोगिता प्रचारप्रचार समिति संयोजक विदुर खवासले जानकारी दिए ।
तस्वीरः सन्तोष सुवेदी/संगालोखबर