विराटनगर । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार चार सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि चैत ७ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । सो दिन सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा आज चाँदी २० रुपैयाँले महँगो हो ।