संगालोखबर
प्रेस चौतारी नेपालको १० औं महाधिवेशनमा बोल्दै महासचिव पोखरेल । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन् । आज विराटनगरमा प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको उद्‌घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनेर छरिएको भ्रमका पछाडि लाग्न नहुने उनको भनाइ थियो ।

Advertisement

महासचिव पोखरेलले वर्तमान सरकार, सरकार चलाउनको लागि मात्र नबनेको बताए । लोकतान्त्रिक प्रणाली माथि नै चुनौती उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको उनको दाबी थियो ।

‘काँग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्’, उनले भने, ‘जब देशलाई सङ्कट पर्छ, तब काँग्रेस र एमाले मिल्ने गर्दछन् ।’ पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर काँग्रेस र एमाले भएका उल्लेख गरे ।

माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनले बताए । राजावादी र भारतीयहरू माओवादीलाई हामीले संरक्षण गरेका थियौँ भन्दै हिँड्न लागेको महासचिव पोखरेलले उल्लेख गरे ।

‘आज राजावादीहरूले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेका छन्’, महासचिव पोखरेलले थपे, ‘राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्दा थाहा हुन्छ । विकास भयो या भएन भन्ने कुरा । राजावादीहरूले कुतर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्दा हुन्छ ।’

लोकतन्त्रले के दियो, गणतन्त्रले के दियो भन्ने कुरा तथ्यका आधारमा विश्लेषण गरेर हेर्नुपर्ने उनको भनाइ थियो । आज जुन हिसाबले सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ त्यसको पछि लाग्ने हो भने लोकतन्त्र नै जोखिममा पर्ने उनले उल्लेख गरे ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रतामा कुनै बन्देज नलाग्ने भए पनि सामाजिक अराजकतालाई भने रोक्नु पर्नेमा उनले जोड दिए । ‘समाजलाई जहिले पनि अस्थिरतामा रुमलेर यो समाज अगाडि बढ्न सक्दैन’, उनले भने ।

नेपालमा राजतन्त्र ब्युँताउने कुरा किमार्थ सम्भव नरहेको उनले बताए । सङ्गठित शक्तिहरूले लामो तयारी गरेर राजाको पक्षमा प्रदर्शन गरेको भए पनि त्यसले गणतन्त्र उल्टाउने कुरा सम्भव नरहेको उनले दाबी गरे ।

नेपालको अहिलेको संविधान संशोधन गरिने बताउँदै उनले त्यसको लागि दुई दलले आवश्यक वातावरण बनाउने काम गरिरहेका उल्लेख गरे । अहिले दुईवटा पार्टी संयन्त्र बनाएर संविधान संशोधन गरी स्थायित्व कायम गरेर अघि बढ्ने पोखरेलले बताए ।

सञ्चार क्षेत्रले तथ्य र सत्यमा विश्वास गर्नुपर्ने महासचिव पोखरेलले उल्लेख गरे । सञ्चारकर्मीले सत्य र तथ्यलाई स्थापित गर्नु पर्ने बताउँदै सञ्चार क्षेत्र हावाको भरमा चल्नु नहुने उनले बताए ।

सञ्चार क्षेत्रले अब विकास र समृद्धिको एजेण्डा लिएर अघि बढ्नु पर्नेमा उनले जोड दिए । अब सञ्चार क्षेत्रको मिसन पनि बदलिनु पर्ने पोखरेलको धारणा छ । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरबाट करिब एक हजार पत्रकारहरू भेला भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!