विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको हो ।
मूल्य घटेपछि अब विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ ५० पैसामा झरेको छ । डिजेल र मट्टीतेलको मूल्य १४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल १६२ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५० रुपैयाँमा पाइने भएको छ । यता, काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १६३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ पर्ने निगमले जनाएको छ ।
आयल निगमले विभिन्न क्षेत्रलाई तीन वटा वर्गमा विभाजन गरेर फरक-फरक मूल्य निर्धारण गर्ने गरेको छ । घटेको मूल्य शनिवार राती १२ बजेबाट लागू हुने आयल निगमले जनाएको छ ।