विराटनगर । थ्रीस्टार क्लबले ९ औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद रङ्गशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठले खेल सुरु भएको पाँचौँ मिनेट र दिपेश घलेले ६३ औं मिनेटमा गोल गरे । उपाधिसँगै थ्री स्टारले नगद ११ लाखसहित ट्रफी हात पारेको छ भने उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
फाइनल खेलको म्यान अफ द म्याच थ्री स्टारका कप्तान एकराज बुढाथोकी घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थ्री स्टारका खेम राज श्रेष्ठले ५१ हजार पुरस्कार पाएका छन् ।
विजेता टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराट गोल्डकपका संयोजक नविन रिजाल लगायतले पुरस्कार वितरण गरेका छन् ।
फागुन १९ गतेबाट सुरु भएको प्रतियोगितामा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।
भिडियो…