विराटनगर । कोशी प्रदेश स्तरीय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर स्थित अरनिको कलेजले जितेको छ । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा भएको प्रतियोगितामा ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गर्दै अरनिकोले उपाधि जितेको हो ।
अरनिकोले गतमाघ १५ गते विराटनगरमा सम्पन्न भएको मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्ड कलेजलाई नै पराजित गरि उपाधि जितेको थियो ।
विराटनगरको बैजनाथ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । अरनिकोका सोनु साहले ४४ रन बनाउँदा नुमिर अहमदले ३६ रन र सौरभ झाले २३ रनको योगदान दिए । ग्रिनल्याण्डका गणेश यादवले ३ विकेट लिँदा सुनिल यादव र गौरी शङ्कर यादवले २-२ विकेट लिए ।
१ सय ४४ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले निर्धारित १८ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ७९ रनमा सीमित भयो । ग्रिनल्याण्डका हेमन्त मेहताले १८ रन बनाउँदा सुनिल यादवले १३ रनको योगदान दिए । अरनिकोका रामनारायण यादवले ३ विकेट लिँदा अमर यादवले पनि ३ विकेट लिए ।
खेलको प्लेयर अफ फाइनल अरनिकोका नुमिर अहमद घोषित भए भने प्लेयर अफ टुर्नामेन्ट ग्रिनल्याण्डका गणेश यादव भए । त्यस्तै उत्कृष्ट ब्याटर अरनिकोका रुद्रप्रताउ साह घोषित हुँदा उत्कृष्ट बलर अरनिका अमर यादव घोषित भए ।
फागुन २६ गतदेखि सुरु भएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका ६ वटा विद्यालय सहभागि भएका थिए । विजयी खेलाडीहरूलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल, हिसान कोशी अध्यक्ष ज्ञानबहादुर खड्का र हिसान मोरङका पूर्वअध्यक्ष बलराम पन्तलगायतले ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।