विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि नभएका काम केही वर्षमा भएका बताएका छन् । आज कोशी प्रदेशसभालाई सम्बोधन गर्दै उनले साधारण मात्र नभएर असाधारण काम गरेको बताएका हुन् ।
‘विकास निर्माणका काममा हामीले दूरगामी दृष्टि प्रस्तुत गरेका छौँ’, ओलीले भने, ‘नेपाली जनताको आकाङ्क्षा सुखी नेपाली र समृद्ध नेपाल हो । सिङ्गै नेपाललाई सुशासन र समृद्ध बनाउनु पर्छ र सिङ्गो नेपालीलाई सुखी नेपाली बनाउनुपर्छ ।’
कोशी प्रदेशमा साक्षरताको प्रतिशत बढी रहेकाले चाँडो गरिबी निवारण गर्न सकिने उनको भनाइ छ । उनले कृषिका क्षेत्रमा विशेष ध्यान दिएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । कृषिलाई जीविकाका लागि मात्र नभएर विकासको विषय बनाउन सकिने उनले उल्लेख गरे ।
‘हाम्रो उद्देश्य गरिबी हटाउनेमा मात्र सीमित छैन, समृद्धि हासिल गर्ने तर्फ छ’, प्रधानमन्त्री ओलीले भने, ‘गरिबी हामी हटाउँछौँ । तर गरिबी हटाएर मात्र पुग्दैन । गरिबी हटाउनु भनेको सामान्य आधारभूत आवश्यकता पूरा गर्नु मात्र हो ।’ उनले रोजगारीमा भन्दा बढी उद्यमशीलतामा बढी जोड दिनुपर्ने धारणा राखे ।