मोहन ढकाल/संगालोखबर
धारामा आएको लेदोसहितको पानी देखाउँदै उपभोक्ता ।

विराटनगर । भौगोलिक विकटताका कारण हिमाली, पहाडी क्षेत्रका प्रायः स्थानमा खानेपानीको जोहो गर्दा बिहान बित्छ । एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने, लाइनमा बस्नुपर्ने बाध्यता छँदैछ । तराईका जिल्लामा पनि पानीको समस्या छ । पानीकै कारण बसाइसराइ गर्नुपरेका घटनाहरू पनि प्रशस्तै छन् ।

यी त पानीको मुहान सुक्नु लगायतका कारणले निम्तिएका समस्या भए । घरघरमा धाराबाट पानी आउँछ । तर, पिउन नमिल्ने अवस्था भएका स्थान पनि छन् । त्यसमा विराटनगर महानगरपालिका पनि पर्छ । विराटनगर-४ का उपभोक्ता धारामा आउने लेदो पानीका कारण हैरान भइसकेका छन् ।

Advertisement

विराटनगर कोशी प्रदेशको राजधानी र राजधानीको पनि एक मात्र महानगरपालिका हो । त्यसैले पनि लाग्न सक्छ, यहाँको समग्र अवस्था प्रदेशका अन्य स्थानको तुलनामा उत्कृष्ट छ । तर, यहाँको अवस्था सोचेभन्दा फरक छ । घरघरमा जडित धारामा धमिलो र लेदो पानी आउँछ ।

विराटनगरका अधिकांश घरमा खानेपानी संस्थानले वितरण गर्ने पानीको धारा जडान गरिएको छ । शुद्ध पानी उपयोग गर्न पाउने सोचसहित धारा जडान गरिए पनि संस्थानको लापरबाहीका कारण विराटनगरवासीको चाहना पूरा हुन सकेको छैन ।

संस्थानले वितरण गर्दै आएको पानी कहिले लेदोसहित त कहिले धमिलो आउँछ । घरमा धारा जडान भएपनि त्यसमा आउने पानी ढुक्कसाथ पिउन सक्ने अवस्था नभएपछि जारको पानी प्रयोग गर्नु विराटनगरवासीको बाध्यता हो । समयमा नै पानीको बिल भुक्तानी नभएमा जरिवाना लिने संस्थानले खानेपानीको शुद्धतामा भने अहिलेसम्म ध्यान नदिएको जनगुनासो बढेको छ ।

विराटनगर-४ का स्थानीय त्रिलोचन भट्टराई धारामा आएको पानी देखाउँदै भन्छन्, ‘कसको लापरबाहीका कारण यस्तो भएको हो, तुरुन्त समाधान गर्नुपर्छ । मान्छेको स्वास्थ्यमाथि यसरी खेलवाड गर्न पाइँदैन ।’ उनले यस्तो संवेदनशील विषयमा राज्य चनाखो भएर लाग्नुपर्ने बताए ।

कसको कमजोरी हो, पत्ता लगाएर त्यसलाई कारबाही गर्नुपर्ने र आगामी दिनमा पुनः यस्तो समस्या नआउने वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ । विगतका वर्षहरूदेखि नै यस्तो समस्या भोग्दै आएको भट्टराईले सुनाए ।

विराटनगरवासीले खानेपानीको शुद्धताका विषयमा बारम्बार संस्थानलाई ध्यानाकर्षण गराइसकेका छन् । तर सुधारका विषयमा कुनै पहल नभएको महानगरवासी बताउँछन् । विराटनगर-४ का अर्जुन चुँडाल विगतमा पनि संस्थानलाई यो विषयमा बारम्बार ध्यानाकर्षण गराइसकेको बताउँछन् ।

‘धारामा धमिलो पानी आउँछ, प्रयोग गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘संस्थानले बिल तिर्नुपर्छ भन्छ, खानेपानीको गुणस्तर सुधार गर्दैन ।’ उनले अब शुद्ध पानी नआउन्जेल बिल नतिर्ने बताउँदै वडावासीलाई पनि नतिर्न आह्वान गरे ।

‘खानेपानी संस्थान, महानगरपालिका र वडाकार्यालयलाई धेरै पटक यो विषयमा जानकारी गराएका छौं’, उनले थपे, ‘यो अहिलेको मात्रै समस्या हैन । धेरै वर्षदेखि यस्तो समस्या भोग्दै आएका छौं । यो समस्या अहिलेसम्म अन्त्य हुन सकेको छैन ।’

विगतमा संस्थानले वितरण गर्दै आएको अशुद्ध पानीका कारण महानगरमा विभिन्न प्रकोपहरू फैलिएको उनले स्मरण गरे । त्यो अवस्था अहिलेपनि अन्त्य भइनसकेको उनको भनाइ छ ।

यही पानीले जण्डिस लगायतका समस्या निम्त्याएको उनले सुनाए । उपभोक्ताले यो विषयमा बारम्बार ध्यानाकर्षण गराइसकेको उनको भनाइ छ । विराटनगर-४ का स्थानीय तथा टोल संगठन कञ्चनबारीका संयोजक समेत रहेका राजन भट्टराईले यस्तो लापरबाहीकाविरुद्ध सबैले आवाज उठाउनुपर्ने बताए ।

‘हामीले समयमा नै महशुल तिर्नुपर्छ । ढिलो भएका जरिवाना पनि असुलिन्छ’, उनले भने, ‘यो राज्यको लापरबाही हो । पैसा तिरेर लेदो मिसिएको, धमिलो र बालुवासहितको पानी हामीले प्रयोग गर्नुपर्ने अवस्था छ । यस विषयमा सम्बन्धित निकायले कहिल्यै ध्यान दिन सकेन ।’ जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई कारबाही हुनुपर्ने उनले बताए ।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोषकुमार रौनियारले वडा नम्बर ४ मा केही कारणले त्यस्तो समस्या आएको बताएका छन् । ‘फिल्टर प्लान्ट राख्ने कुरा भएको थियो’, रौनियारले संगालोखबरसँग भने, ‘जग्गा भेटिएको छैन । जग्गा नहुँदा फिल्टर प्लान्ट राख्न पाइएको छैन । त्यसैले समस्या भएको हो ।’

महानगरपालिकासँग जग्गाका विषयमा कुरा गरेको र अहिलेसम्म टुङ्गो लाग्न नसकेको उनले बताए । जग्गा भेटिनासाथ अहिलेको समस्या समाधान हुने उनको भनाइ थियो । जग्गा खोजीका लागि पाँच छ महिनादेखि प्रक्रिया अगाडि बढाइएको रौनियारले बताए ।

‘यहाँको पानीमा आइरन आउँछ, त्यसैले फिल्टर प्लान्ट हाल्ने योजना बनाएको हो’, उनले भने, ‘जग्गा उपलब्ध हुनासाथ तुरुन्त काम गर्छौँ ।’ उनका अनुसार वडा नम्बर ४ मा करिब दुईसय घरपरिवारले संस्थानको धारा जडान गरेका छन् । विराटनगरका अन्य स्थानमा खासै समस्या नभएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!