विराटनगर । विराटनगर जेसिजले ५२ औं स्थापना दिवस मनाएको छ । एम्स कलेज र जेसिज सचिवालयमा विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो । एम्स कलेजमा विद्यार्थी तथा जेसिज प्रतिनिधिले रक्तदान गरेका छन् । जेसिजलाई विराटनगरमा पहिलो रक्तदान गर्ने संस्थाको रूपमा लिइन्छ ।
त्यस्तै जेसिजको सचिवालयमा भएको विशेष कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर राधिका थपलियालाई सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको जेसिजले जनाएको छ ।
विराटनगर जेसिजका पूर्व अध्यक्ष श्याम सुन्दर पौडेल ‘मिलन’ले विराटनगर जेसिज आफैँमा इतिहास बोकेको संस्था भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको व्यक्तिलाई सम्मान गर्न पाउनु जेसिजका लागि गौरवको विषय भएको उल्लेख गरे ।
स्थापना दिवसको अवसरमा विराटनगर जेसिजका संस्थापक अध्यक्ष स्वर्गीय राजेन्द्र बहादुर श्रेष्ठको योगदानको चर्चा गरिएको थियो ।