विराटनगर । विराटनगर-४ राजवंशी चोकमा अवस्थित अर्पण अङ्ग्रेजी स्कुलले २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार स्कुल प्राङ्गणमा विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नाटकसहित विभिन्न सांस्कृतिक कार्यक्रममार्फत अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला, विशिष्ट अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको प्रिन्सिपल सुवास विष्टले जानकारी दिए । शिक्षिका सुधा क्षेत्री र स्थापनाकालदेखि कार्यरत कर्मचारी टुकाप्रसाद कट्टेललाई सम्मान गरिएको उनले बताए । यस्तै नृत्य, संगित र उसु प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।
विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट तथा राम्रो नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ । वर्षमा उत्कृष्ट हुने छात्रा आशिका भट्टराई र छात्र दिवस कटवाललाई पनि पुरस्कृत गरिएको थियो ।
स्कुलका निर्देशक यादव प्रधानले विद्यार्थीहरूलाई किताबीसँगै प्रयोगात्मक सिकाइमा जोड दिँदै आएको उल्लेख गरे । विद्यार्थीहरूको क्षमता प्रस्फुटन गर्न स्कुलले विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।