विराटनगर । विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान-२०८१’ बाट सम्मानित भएका छन् ।
विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा सङ्खुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना भएको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् ।
विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय रहेका नवोदितका तीनवटा मौलिक कृति प्रकाशित छन् । हाल कारोबार दैनिक र साहित्य पोष्टको कोशी प्रदेश संयोजकको जिम्मेवारीमा रहेका उनले विभिन्न सञ्चारमाध्यमको सम्पादकको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।
नवोदितले आफ्ना सिर्जनामा पहाडी ग्रामीण जनजीवनका विषय उठान गर्नुका साथै पत्रकारितामार्फत साहित्यिक तथा सांस्कृतिक विषयलाई आमजनतामाझ पुर्याएका कारण महोत्सवको अवसर पारेर सम्मान गरिएको महोत्सवको संयोजन गरेको मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए ।
महोत्सवमा वरिष्ठ गायक एवं सङ्गीतकार बुलु मुकारुङ र भारतको आसममा बसेर नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा लामो समयदेखि सक्रिय रण काफ्लेलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, वरिष्ठ साहित्यकार डा. पुष्करदेव भट्ट, मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पा, उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकला राई, प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर दर्जी, मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।