विराटनगर । कोशी क्रिकेट महोत्सव सम्पन्न भएको छ । कोशी प्रदेश क्रिकेट सङ्घको प्रवर्द्धन, नेपाल क्रिकेट फाउन्डेसनको आयोजना, एमसिसि फाउन्डेसन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वय तथा मोरङ जिल्ला क्रिकेट सङ्घको सहयोगमा भएको महोत्सव सम्पन्न भएको हो ।
महोत्सव विराटनगर ६ स्थित मेरिलबोन ज्वाला क्रिकेट मैदानमा भएको थियो । कोशी क्रिकेटको विकास र प्रवर्द्धन तथा विद्यालय स्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्दै उदीयमान प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए ।
विद्यालय क्रिकेटलाई सशक्त बनाउने, महिला खेलाडीहरूलाई क्रिकेटमा समान अवसर दिने र युवा खेलाडीहरूलाई पेशागत क्रिकेटतर्फ आकर्षित गर्ने यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
प्रतियोगितामा आदर्श बालिका, आदर्श माध्यमिक विद्यालय, जनपथ माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय, विराट बहिरा माध्यमिक विद्यालय र सुशिक्षा निकुञ्ज सहभागि थिए । १० ओभरको प्रतियोगितामा महिला र पुरुषतर्फको खेल दुवै खेल समावेश गरिएको थियो ।