संगालोखबर


विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुस्लिम अगुवाहरूले ज्ञापनपत्र बुझाएका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मुस्लिम अगुवाहरूले अध्यक्ष प्रचण्ड समक्ष सिमा क्षेत्रका समस्या र मुस्लिम समुदायको आवाजप्रति गम्भीर हुन आग्रह गर्दै बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने बताए ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् ।

उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने उनले बताए । माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने उनको धारणा थियो ।

अन्य दलहरूलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको अधिकार विरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्न माओवादी जनताकै तागत लिएर अघि बढ्ने बताए ।

उनले सीमा क्षेत्रका समस्या लगेर सिंहदरबारमा घन्काउन जनतासँग माओवादी, तराई मधेस जागरण अभियान थालिएको जानकारी दिँदै यो अभियानले दक्षिण नेपालका समस्या राष्ट्रिय समस्याको रूपमा अघि बढाउने उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!