विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गत महिला फुटबलमा झापा, मोरङ, सुनसरी र धनकुटा विजयी भएका छन् ।
आज विराटनगरको दिल्ली पब्लिक स्कुलको मैदानमा सम्पन्न पहिलो खेलमा तेह्रथुम जिल्ला टोलीलाई ० विरुद्ध ६ गोल गर्दै झापा विजयी भएको हो ।
दोस्रो खेलमा खोटाङलाई ० विरुद्ध १ गोल गर्दै मोरङ विजयी भएको छ । तेस्रो खेलमा सुनसरीले सोलुखुम्बुलाई ३-० गोलले पराजित गर्दै विजयी भएको हो ।
यस्तै चौथो खेलमा ओखलढुङ्गा विरुद्ध अन्तिम समयमा गोल गर्दै धनकुटाले खेल आफ्नो पक्षमा पारेको थियो ।
कबड्डीको उपाधि मोरङलाई
यस्तै पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कुलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो ।
मोरङले झापाको २० अङ्क विरुद्ध ३१ अङ्क हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पार्यो । कोशी प्रदेशका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा मोरङले उपाधिसँगै ट्रफी, मेडल र एक लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता झापाले ट्रफी, मेडल र ५० हजार नगद पुरस्कार पाएको छ । खेलकुद महोत्सवमा हालसम्म एथलेटिक्स, डोरीतान र पुरुष कबड्डी प्रतियोगिता सम्पन्न भइसकेको छ ।