विराटनगर । आज महाशिवरात्रि पर्व मनाइँदैछ । भगवान् शिवजी उत्पत्ति भएको दिनको रूपमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरेर यो पर्व मनाउने प्रचलन छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा यो पर्व मनाउने गरिन्छ । पर्वको अवसरमा विराटनगरसहित देशभरका शिवालयहरू बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजाआराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्को भनाइ छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्छन् ।
यो पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक ४ प्रमुख रात्रिमध्ये १ पवित्र पर्वका रूपमा लिने गरिन्छ । यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
माघ महिनामा महादेवको रुद्रत्व अर्थात जगत्लाई रुवाउने वा संहार गर्ने तत्त्वले गर्दा पत्रविहीन भइ जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्त्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने मान्यता छ । व्रतमध्ये सर्वाेत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ ।