विराटनगर । आठौँ विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्किड स्कुललाई ७ विकेटले पराजित गर्दै सरस्वतीले उपाधि जितेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा १८ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले सर्वाधिक ५१ रनको योगदान दिए । सरस्वतीका सुरज मण्डलले ४ विकेट लिँदा निरज यादवले ३ विकेट लिए ।
९६ रनको लक्ष्य पछ्याएको सरस्वतीले १५ दशमलव ३ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । सरस्वतीका दिगम्बर यादवले ३१ रन बनाउँदा क्रितिषा धामीले २२ रनको योगदान दिए । अर्किडका सुरज यादवले २ विकेट लिए । सरस्वती स्कुलकी छात्रा धामीले छात्र खेलाडीसँगै क्रिकेट खेलेकी हुन् ।
प्रतियोगिताको प्लेयर अफ द सिरिज सरस्वतीका विकास कामत घोषित भए । त्यस्तै उत्कृष्ट ब्याटर सरस्वतीका प्रशान्त यादव र उत्कृष्ट बलर अर्किडका प्रेम कामत भए । विजयी तथा अन्य खेलाडीहरूलाई हिसान मोरङका पूर्व अध्यक्ष राजेश कार्की, क्रिकेट एम्पायर सिरिस उपाध्याय र भास्कर अर्यालले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।