विराटनगर । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको लिग चरणमा नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज साँझ ६ बजेबाट खेल सुरु हुनेछ ।
अन्तिम खेल अघि नै नेपाल र म्यानमार फाइनलमा पुगिसकेका छन् । नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै फाइनलमा पुगेको हो ।
म्यानमारले पहिलो खेलमा लेबनानलाई ३-१ गोलले र दोस्रो खेलमा किर्गिस्तानलाई पाँच गोलले हराएको थियो । नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ । तीन खेलमा पराजित नेपालले एक खेलमा बराबरी खेलेको थियो ।
लिग चरणको आज हुने अन्तिम खेल अघि दिउँसो २ बजे लेबनान र किर्गिस्तानले खेल्दैछन् । लेबनान र किर्गिस्तान उपाधि होडबाट बाहिरिसकेका छन् । नेपाल र म्यानमारबीचको फाइनल खेल बुधवार हुनेछ ।