संगालोखबर


विराटनगर । शिक्षकका विभिन्न घटक संस्थाहरूमा आबद्ध शिक्षकहरू आन्दोलनमा होमिएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको गत माघ १६ र १७ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देशैभरिका शिक्षक आन्दोलित भएका हुन् ।

यसअघि सात सय ५३ वटै पालिकामा ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाइसकेका उनीहरूले फागुन ८ गते शुक्रबार विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरेका छन् । शुक्रबार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा भेला भएर शिक्षकहरूले आफ्ना मागहरू बारे सरकारको ध्यानाकर्षण गराए ।

Advertisement

२०३६ साल देखि विभिन्न पेशागत र शैक्षिक माग राखेर शिक्षकहरू आन्दोलित छन् । उनीहरूले २०६८, २०७५, २०७८ र २०८० सालमा काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । सरकारले आफ्ना मागहरू सम्बोधनमा चासो नदेखाएकाले वार्षिक परीक्षा नजिकिएसँगै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिन लागिएको उनीहरू बताउँछन् ।

प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० तत्काल संसद्को हिउँदे अधिवेशनबाट पारित गर्न दबाब स्वरूप आन्दोलन गरिएको नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोखरेलले बताए । उनका अनुसार एक महिने लामो शैक्षिक आन्दोलनका कार्यक्रम लिएर नेपाल शिक्षक महासङ्घ अगाडि बढेको हो ।

जसअन्तरगत फागुन १५ गते सातै प्रदेशका सामाजिक विकास मन्त्रालय तथा मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ । फागुन २४ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनकी केन्द्रीय सदस्य अर्चना ढुङ्गेलले जानकारी दिइन् ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष हिक्मत बहादुर बस्नेत, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय समितिकी सदस्य रिता पाठक, विद्यालय कर्मचारी परिषद् मोरङका अध्यक्ष शैलेन्द्र ताजपुरिया लगायतले तत्काल २०२८ सालको शिक्षा ऐन विस्थापित गरी सङ्घीय शिक्षा ऐन २०८० ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!