विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले ‘जनतासँग माओवादी, तराई-मधेश जनजागरण अभियान’ चलाउने भएको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा गरिएको पत्रकार सम्मेलनमा आगामी फागुन १२ गतेदेखि अभियान चलाउने जानकारी गराइएको हो ।
अभियान झापाको कचनकवलबाट सुरु भएर कञ्चनपुरमा समापन गर्ने तय गरिएको छ । जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा एक-एक दिन अध्यक्ष प्रचण्डसहितका सम्पूर्ण पदाधिकारीको टोली अभियानमा खट्ने माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले जानकारी दिए ।
जसअनुसार फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीमा उद्घाटन हुने, बाह्रदशी र झापा गाउँपालिकामा भेटघाट, जन-अन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ । फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमबाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जन-अन्तरक्रिया तथा सभाको आयोजना गर्ने माओवादीले जनाएको छ ।
यस्तै फागुन १४ गते सुनसरीको बर्जू गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगर, लौकही र इनरुवामा भेटघाट, जन-अन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ । अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप-महासचिवहरूसहितको केन्द्रिय टोली सबै कार्यक्रममा सहभागी हुने अध्यक्ष नेम्वाङले जानकारी दिए ।
यस्तै केन्द्रीय टोलीको बिदाइपछि फागुन महिनाभरि हुलाकी राजमार्ग केन्द्रित प्रदेशस्तरीय अभियान सञ्चालन गर्ने उनले जानकारी दिए । अभियान अवधिमा कम्तीमा पाँच हजार अन्य पार्टीका नेता तथा कार्यकर्ता र सामाजिक व्यक्तित्वहरूलाई पार्टी प्रवेश गराउने लक्ष्य रहेको उनको भनाइ थियो ।
अभियानमा ०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनर्मिलन समेत गरिने उनले बताए । अभियानको क्रममा तराई चुरे जनसाङ्गीतिक अभियान ‘समाजवादी संस्कृति र चेतना जागरणको लागि तराई चुरे अभियान’ समेत सञ्चालन गरिने उनले जानकारी दिए ।