विराटनगर । ‘कम्वाइन हार्वेस्टर’ नामक मेसिन ल्याउँदा एकीकृत भन्सार जाँच चौकी विराटनगरले अनावश्यक दुःख दिएको आरोप लागेको छ । कृषक तथा स्थानीय व्यवसायीले नेपाल ल्याउन लागेको मेसिन भन्सारमै रोकिएपछि यस्तो आरोप लागेको हो ।
नेपाली किसानका लागि एउटा महत्वपूर्ण र अत्याधुनिक कृषि सामाग्री भनिए पनि भन्सारले अनेक बहानामा रोकिदिएको इटहरी-१६ का चन्दनकुमार साहले बताए । उनले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सागर मोटर्स पार्ट रामधुनीको नामबाट मेसिन निर्यात गरेको बताए । तर भन्सारले अनावश्यक दुःख दिँदा तीन महिनादेखि मेसिन रोकिएको उनको भनाइ छ ।
‘तीन महिना देखि जाँचपास पनि भएको छैन । अनावश्यक दुःख पाइएको छ’, साहले पत्रकार सम्मेलनमा भने, ‘गत कात्तिक २८ गते भारतको पञ्जाबबाट सरकारी मापदण्ड अनुसार मेसिन ल्याइयो । भन्सारले आनाकानी गरेपछि मंसिर १७ गते मापदण्ड पुग्दैन भने मेसिन फिर्ता पठाइदिनु भनेर निवेदन दिएपनि अहिलेसम्म जाँचपास हुने, नहुने केही जानकारी आएको छैन ।’
मेसिन पार्किङ गरेर राखे बापत ट्रान्स नेपाल सर्भिस प्रालिलाई उल्टै २९ हजार नौ सय ८३ रुपैयाँ भाडा वापत तिर्नु परेको उनले सुनाए । चार वर्ष वैदेशिक रोजगारीमा बिताएका उनले नेपालमै केही गर्नुपर्छ भन्ने लागेर बैंकबाट २६ लाख ऋण लिएर उक्त धान काट्ने मेसिन खरिद गरेको बताए ।
भन्सारका प्रमुख र केही कर्मचारीले यो विषयलाई जटिल बनाउने प्रयास गरेको उनको आरोप छ । दलाल मार्फत काम गर्नु भनेपछि आफूहरू पीडामा रहेको उनको भनाइ छ । यस विषयमा बुझ्न भन्सारका सूचना अधिकारी सुमित गुप्तालाई पटक-पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् ।