विराटनगर । ताप्लेजुङमा केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षले पुनः आन्दोलन घोषणा गरेको छ । सरकारसँग भएको वार्ता बिनानिष्कर्ष सकिएपछि मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् ।
उच्च स्तरीय वार्ता समिति गठन गर्न माग गरिएको भएपनि सरकार केबलकार बनाउने पक्षमा देखिएकाले पुनः आन्दोलन गर्न बाध्य हुनुपरेको विज्ञप्तिमा जनाइएको छ ।
माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंक सहित आइएमई समूहको बहिष्कार गर्ने, फागुन ६ देखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।
यसैगरी केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने, काठमाडौं, इटहरी र बिर्तामोडमा केबलकार विरोध सभा गर्ने, केबलकार खारेजीका लागि जिल्ला प्रशासन कार्यालय मार्फत संघ सरकारलाई विरोध पत्र पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दुतावासबाट विरोध पत्र पठाउने र अनिश्चितकालीन यातायात बन्दसँगै आमहड्ताल गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।