विराटनगर । विराटनगर-२ शंकरपुरमा रहेको सेन्ट म्यारिज माध्यमिक विद्यालयमा विज्ञान तथा कला प्रर्दशनी गरिएको छ । कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूले आफैँले बनाएका दर्जनौं उपकरण तथा चित्रकला प्रदर्शन गरेका हुन् ।
प्रर्दशनको अवलोकन गर्न पुगेका अभिभावकलाई विद्यार्थीहरूले आ-आफ्नो स्टलमा रहेका उपकरण तथा प्रविधिको बारेमा जानकारी गराएका थिए । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको रङ्गोली प्रतियोगिता गरिएको थियो । चार वटा सदन विभाजन गरेर प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा विद्यार्थीहरूले काठको धुलोमा रङ लगाएर आकृति बनाएका थिए ।
विद्यार्थीहरूले प्रेसर जाँच, रगत जाँच गर्नुका साथै थ्रीडी आई, फोटोग्राफी, जीव विज्ञानका बारेमा अभिभावकहरूलाई प्रयोगात्मक रूपमै जानकारी गराएका थिए । यसैगरी चित्रकलातर्फ मन्दिर, स्तूपा, राष्ट्रियता झल्कने विभिन्न पक्षलाई प्रस्तुत गरिएको थियो ।
विद्यार्थीहरूको बौद्धिक क्षमता विकासका लागि प्रयोगात्मक रूपमै यस्ता कार्यक्रम गर्ने गरिएको प्रिन्सिपल सिस्टर मार्लिन सि.जे.ले बताइन् । आ-आफ्नो इच्छाको विषयमा विद्यार्थीहरू सहभागि भएका उनले जानकारी दिइन् । विद्यालयमा करिब १२ सय छात्रा अध्ययनरत छन् ।