धनकुटा । साउदीमा ज्यान गुमाएका धनकुटाका काजी तामाङको शव नेपाल ल्याइएको छ । धनकुटा नगरपालिका-२ भीरगाउँ चोक्रोक घर भएका ५२ वर्षीय तामाङको शव आज नेपाल ल्याइएको हो ।
करिब १८ महिना अगाडि वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका तामाङ काम गर्ने क्रममा छाती दुखेको महसुस भएपछि आराम गर्न गएका थिए ।
अब्दुल रहमान ए ओटिशन समूहमा कार्यरत तामाङको आराम गर्न गएकै अवस्थामा मृत्यु भएको जनाइएको छ । उनको मृत्यु भएको खबर गत पुस २५ गते परिवारलाई आएको थियो ।
पुस २९ गते वडा कार्यालयले नेपाली दुतावासमा पत्र लेख्दै शव नेपाल ल्याउने प्रयोजनका लागि आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरेको थियो । आज बिहान काठमाडौं आइपुगेको शवलाई धनकुटा ल्याउँदै गरिएको छ ।
शव लिन उनका छोरा मनोज काठमाडौं पुगेका थिए । वैदेशिक रोजगार बोर्डको सचिवालयले धनकुटासम्म निःशुल्क शव ल्याउने व्यवस्था मिलाएको छ । बोर्डले विदेशमा मृत्यु भएका व्यक्तिको शव काठमाडौंबाट निःशुल्क सम्बन्धित स्थानमा पुर्याउने गरेको छ ।