विराटनगर । ताप्लेजुङबाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने सांसद योगेशकुमार भट्टराईले पाथीभरामा केबलकार निर्माण गर्ने विषयमा उत्पन्न विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद भट्टराईले केबलकार निर्माण कम्पनी र स्थानीयको समस्या वार्ता र संवादको माध्यमबाट समाधान गर्नुपर्ने बताएका हुन् ।
उनले परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने भन्दै आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन आग्रह गरे । उनले सरकारसँग पनि गिरफ्तार भएका व्यक्तिहरू रिहा गरी घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गरे ।
भट्टराईले केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय करलगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुनेगरि सर्वपक्षीय समिति निर्माण गर्नुपर्ने बताए ।
उनले केबलकार कम्पनीले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुपर्ने बताए ।
उनले केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियतका साथै स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्नेमा उल्लेख गरे ।
उनले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष स्थापना गर्नुपर्ने उल्लेख गरे ।