बैतडी, २ असोज । गर्भवती महिलाको तथ्यांक बैतडीमा मोबाइलबाट संकलन गरिने भएको छ। गर्भवतीसमक्ष आवश्यक स्वास्थ्य सेवा पुर्‍याउन सजिलो होस् भनेर मोबाइलबाटै तथ्यांक संकलनको तयारी भएको हो।

Advertisement

जिल्ला स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले मेडिक मोबाइलको सहयोगमा गर्भवतीको तथ्यांक संकलन मोबाइलमार्फत गर्ने तयारी गरेको जानकारी दिए। मातृ मृत्युदर र बाल मृत्युदरमा कमी ल्याउने उद्देश्यसहित मोबाइलमार्फत तथ्यांक संकलन गर्न लागेको उनको भनाइ छ।

‘अझै एक सय गर्भवती महिलामा ३४ जनाले घरमै बच्चा जन्माइरहेका छन्’, उनले भने, ‘उनीहरू विविध कारणले स्वास्थ्य संस्थामा आउन सकिरहेका छैनन्। अब मोबाइलमार्फत सबैको तथ्यांक संकलन गरी उनीहरूकहाँ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनेछौं।’

मेडिक मोबाइलका कार्यक्रम प्रबन्धक मनोज खड्काले तथ्यांक संकलन गर्न आठ सय ३० स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिने बताए । भने, ‘दसैंलगत्तै हामी सिमसहितको मोबाइल उपलब्ध गराउँछौैं । उनीहरूलाई मोबाइलमा डाटा इन्ट्रीका लागि तीनदिने तालिम पनि दिन्छौं ।’

गर्भवतीको नाम दर्ता गरेपछि स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने मितिबारे एसएमएसमार्फत स्वास्थ्य स्वयंसेविकालाई जानकारी हुनेछ। स्वास्थ्य संस्थामा जाँच गराए/नगराएको एसएमसमार्फत नै जानकारी हुने कार्यक्रम प्रबन्धक खड्काले बताए। भने, ‘आमा सुरक्षा कार्यक्रमबाट कोही पनि वञ्चित नहोऊन् भन्ने उद्देश्य हामीले राखेका छौं।’

सुत्केरी हुने एक साताअघि नै स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा एसएमएस आउने जिल्ला स्वास्थ्य प्रमुख अवस्थीको भनाइ छ। भने, ‘मोबाइलमार्फत नै जानकारी पुगेपछि दुर्गमका गर्भवती महिला स्वास्थ्य संस्थामा आउँछन्। यसमा महिला स्वास्थ्य स्वंसेविकाले सहयोग गर्नेछन्।’

बैतडीलाई घरमा हुने सुत्केरीशून्य जिल्ला बनाउन मोबाइलमार्फत गर्भवतीको तथ्यांक संकलन कार्य प्रभावकारी हुने जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन्।

‘चारपटक गर्भ जाँच, स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने जानकारी मोबाइलबाट प्राप्त हुनासाथ महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन्।

यसले मातृ मृत्यु र बाल मृत्युदर घट्नेछ’, उनले भनिन्। मोबाइलमा डाटा इन्ट्री भएका गर्भवतीको गर्भ जाँच गर्ने समयका विषयमा एसएमएसमार्फत जानकारी हुने उनको भनाइ छ । भनिन्, ‘समयमा गर्भवती महिलाको स्वास्थ्य जाँच भएन भने सम्बन्धित स्वयंसेविकालाई सोधेर स्वास्थ्य सेवा दिनेछौं।’

जनप्रतिनिधि खुसी
मोबाइलमार्फत गर्भवती महिलाको तथ्यांक संकलन हुने भएपछि स्थानीय तहका जनप्रतिनिधिले खुसी व्यक्त गरेका छन् । यसले स्वास्थ्य सेवामा गर्भवतीको पहुँच पुर्‍याउने उनीहरूको विश्वास छ।

जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तक्र्रियामा सहभागी जनप्रतिनिधिले यो कार्यक्रमले स्वास्थ्य सेवा लिन नसकेका सीमान्तकृत समुदायलाई सजिलो हुने विश्वास व्यक्त गरे।

डिजिटल प्रविधिबाट तथ्यांक संकलन भई महिलालाई सेवा पुर्‍याउने कार्यक्रम निकै लाभदायक हुने शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले बताइन् ।

ग्रामीण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलामा यो कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दको भनाइ थियो।-अन्नपूर्णपोष्ट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!