विराटनगर । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदलाई छलफलका लागि बोलाएका छन् । ताप्लेजुङमा केबलकार निर्माणको विषयमा भइरहेको विवादको विषयमा छलफल गर्न गृहमन्त्री लेखकले उनीहरूलाई बोलाएका हुन् ।
लेखकले सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेवेलाई आज साँझ ५ बजे मन्त्रालयमा बोलाएका हुन् । उनीहरूले गृहमन्त्री लेखकलाई जिल्लाको वास्तविक अवस्थाबारे जानकारी गराउने छन् ।
त्यस्तै आन्दोलनरत पक्षसँग छलफल गर्न सरकारलाई सुझाव दिने जनाइएको छ । पाथिभरामा केबलकार निर्माण गर्न नहुने भन्दै ‘नो केबलकार’ पक्ष लामो समयदेखि आन्दोलनरत छन् ।
लिम्बु समुदायले आफ्नो धार्मिक र सांस्कृतिक महत्वको स्थानलाई अतिक्रमण गर्न नहुने भन्दै आन्दोलन गरिरहेका हुन् । शनिबार सोही विषयलाई लिएर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
प्रदर्शनमा सुरक्षाकर्मीसहित २६ जना घाइते भएका थिए । तीन जना प्रदर्शनकारीलाई प्रहरीले चलाएको गोली लागेको थियो ।