ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धाननाचको स्तम्भ राखिएको छ । तोक्मेडाँडामा करिब ८० लाखको निर्माण गरिएको स्तम्भको बिहीबार उद्घाटन गरिएको छ ।
धान नाच स्तम्भ किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ र ताक्वाचङ या-राक्मा तेन निर्माण समितिले संयुक्त रूपमा बनाएका हुन् ।
पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक संस्कार, संस्कृति लोप हुँदै गएको अवस्थामा धान नाच स्तम्भ निर्माण गरिएको चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले उल्लेख गरिन् ।
यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास पनि गरिएको उनको भनाइ छ । धान नाच स्तम्भसँगै पृष्ठभूमिमा कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल र प्रसिद्ध धार्मिक स्थल पाथीभराको प्रतिमा देखिनेगरी आकृति तयार पारिएको छ ।