विराटनगर । अमेरिकाको भर्जिनिया स्थित शेन्टिलीमा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । बिहीबार स्थानीय समयअनुसार बिहान साढे सात बजे विन्गेट बाई विन्डहम होटल नजिकै हिउँमा चिप्लिएर पोखरीमा कार डुब्दा उनीहरूको मृत्यु भएको हो ।
गाडी आंशिक रूपमा जमेको पानीमा डुबेपछि चालक ५५ वर्षीय कर्ण खड्का र गाडीमा सवार २० वर्षीय निश्चल भट्ट फसेका थिए । उद्धार टोली पुग्दा १० फिट गहिरो पानीमा डुबेको अवस्थामा दुवै जनाको शव निकालिएको थियो ।
खड्का विन्गेट होटलमा काम गर्दै आएका थिए भने उनीसँगै रहेका भट्टले पनि त्यही होटलमा जागिरका लागि आवेदन दिने योजना बनाएका थिए । उनीहरूको नेपाल घर कहाँ हो भन्ने खुल्न बाँकी रहेको छ ।